२९ मार्च २०१८ मा दोधरा-चाँदनी ICD निर्माण स्थलको संयुक्त निरीक्षण सम्पन्न
नेपाल र भारत सरकारको संयुक्त निरीक्षण टोलीले कन्चनपुरको दोधरा-चाँदनीमा निर्माण गरिने सुख्खा बन्दरगाहका लागि दुवै देशका सीमा नाकामा उपयुक्त स्थान छनौट, पूर्वाधार निर्माण र विकास निर्माणमा दुवै देशतर्फ सामञ्जस्यता कायम गर्न मिति २०७४ चैत्र १५ गते तदनुसार २९ मार्च २०१८ मा सो क्षेत्रको स्थलगत निरीक्षण सम्पन्न गरेको छ ।
उक्त नीरिक्षण नेपाल र भारत सरकारका वाणिज्य सचिवस्तरमा रहेको अन्तर सरकारी समिति(IGC)को सन् २०१६मा भारतको नयाँ दिल्लीमा सम्पन्न बैठकको निर्णयमा उल्लेख भए बमोजिम कञ्चनपुरको दोधारा-चाँदनीमा Inland Container Depot(ICD) निर्माणको लागि दुवै देशका उच्च स्तरीय अधिकारी सम्मिलित संयुक्त टोलीले स्थलगत रुपमा निरीक्षण गर्ने सहमति भए अनुसार सो निरीक्षण भएको हो ।
संयुक्त निरीक्षण टोलीमा नेपालको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव श्री रविशंकर सैंजुको नेतृत्वमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग र नेपाल ईन्टरमोडल यातायात विकास समितिका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो भने भारतको तर्फबाट भारत सरकारको वाणिज्य विभागका उपसचिव श्री अनुराग शर्माको नेतृत्वमा नेपालस्थित भारतीय राजदूतावास, सडक, यातायात तथा राजमार्ग मन्त्रालय, रेल मन्त्रालय र गृह मन्त्रालयका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।टोलीले नेपाल पक्षबाट ICD/ICP निर्माणका लागि पहिचान गरेका विभिन्न तीनवटा बैकल्पिक स्थानहरु लगायत भारत तर्फ सीमा भन्सार कार्यालय एवं सीमास्थित पूर्वाधार अवस्थाको निरीक्षण गरेको थियो ।स्थलगत निरीक्षण पश्चात सोही दिन कन्चपुरको महेन्द्रनगरमा दुवै देशका उच्च अधिकारीको संयुक्त बैठक एवं छलफल पश्चात संयुक्त स्थलगत निरीक्षण प्रतिवेदनमा हस्ताक्षर गरियो ।
